वृद्धावस्था आजको चुनौती

-रचना मास्के 
संसार विचित्रको छ । संसारमा कुनै पनि वस्तु स्थायी छैन । जुन जन्मन्छ त्यो मर्छ । संसारको हरेक चीज पुरानो भएपछि नष्ट भएर जान्छ । अरु प्राणीजस्तै मानिस पनि जन्मन्छ, हुर्कन्छ अनि वृद्ध हुँदै जान्छ र अन्त्यमा मर्छ । म्ाानिस किन बूढो हुन्छ भन्ने विषयमा विश्वमा थुप्रै अनुसन्धान भएका छन् । विभिन्न वैज्ञानिकले यस विषयमा धेरै प्रकारका व्याख्या गरे पनि यसको रहस्य अझ खुल्न सकेको छैन ।

विश्वमा म्ाानिसहरूले धेरै उन्नति-प्रगति गरेका छन् अझ विज्ञानले त चमत्कार नै ल्याइदिएको छ । अहिले औषधि विज्ञानले प्रशस्त प्रगति गर्नुका साथै प्रकृतिलाई नै चुनौती दिँदै मानिसहरूको आयु लम्बाउँदै गएको अवस्था छ, फलस्वरूप अहिले विश्वको एक तिहाइ जनसंख्या वृद्धावस्थामा रहेको विभिन्न तथ्याङ्कले देखाउँछ ।

नेपालमा २०५३/५४ सालमा लिइएको एक तथ्याङ्कअनुसार नेपाली महिला तथा पुरुषहरूको औसत आयु ५६ दशमलम १ वर्षबाट बढेर ६० वर्षको हाराहारीमा आइपुगेको छ । त्यसैले पनि नेपालमा वृद्धहरूको संख्या निरन्तर बढ्दैछ । 



व्ाृद्धावस्थालाई साधारण तरिकाले परिभाषित गर्दा यो जीवनचक्रको अन्तिम अवस्था हो । मानिस जन्मिएपछि उमेरको वृद्धिसँगै शरीरका विभिन्न प्रणाली र तिनीहरूको कार्यक्षमतामा परिपक्वता आउनुका साथै मानिसको उमेर ३० भन्दा माथि पुग्न थालेपछि शरीरमा विस्तारै शारीरिक बनावटका साथै कार्यक्षमतामा पनि ह्रास आउन थाल्छ । शारीरिक क्षमतामा कमी हुँदै जाने, शारीरिक असन्तुलन बढ्दै जाने, शरीरमा शरीरलाई हानि पुर्‍याउने तत्वहरू बढ्दै गएर शरीरको कार्य प्रणालीमा अवरोध उत्पन्न हुने तथा त्यस्ता कारण वा अवस्थाले गर्दा विभिन्न प्राणघातक रोग लागेर अन्त्यमा मृत्युको सिकार हुने बढ्दो क्रममा छ । विभिन्न देशमा वृद्ध कसलाई भन्ने भिन्दाभिन्दै अवधारणा पाइन्छ तर समान्यतः ६० वर्षभन्दा माथिको उमेरलाई वृद्धावस्थामा लिइन्छ । 

नेपालमा अहिलेसम्म वृद्धहरूका लागि कुनै ठोस योजना तर्जुमा गर्न त्यति ध्यान दिइएको देखिँदैन । नेपालमा वृद्धहरूको अवस्था निकै दयनीय छ । अहिले वृद्धहरूका लागि कुनै ठाउँ नै छैन भन्दा पनि हुन्छ । नेपालमा भएका वृद्धाश्रहरूमा वृद्धवृद्धाहरूको अवस्था निकै दयनीय छ । ती वृद्धवृद्धाहरूले कुनै समयमा आफ्नो जीवनको अमूल्य समय, रगत-पसिना यो समाज एवं घरपरिवारलाई दिएकै हुन् तर सकुन्जेल अरूका लागि पसिना बगाएर नसक्ने अवस्थामा समाज एवं घरपरिवारबाट अपहेलित भएर तिरस्कृत जीवन बिताउनुपर्ने विडम्बना जताततै छ । वृद्धवृद्धाहरूलाई अरूसरह बाँच्न पाउने अघिकार छैन । उनीहरूको अधिकारका लागि लडिदिनेहरू पनि छैनन् ।

संसारमा भएका रोग एवं शारीरिक समस्याहरूम्ाध्ये ६० प्रतिशत रोग वृद्धावस्थामै लाग्छ । नेपालका विभिन्न अस्पतालमा वृद्धहरूका लागि छुट्टै वार्डको व्यवस्था गरिएको पाइँदैन । बच्चाहरूलाई ज्ास्तै वृद्धहरूलाई पनि विशेष प्रकारको स्याहारसुसार एवं उपचारको आवश्यकता पर्छ । अहिले विभिन्न अस्पतालमा अन्य उमेरका वयस्कहरूसँगै वृद्धहरूलाई पनि भर्ना गरिन्छ र अरूसरह उपचार गरिन्छ । वृद्धावस्थामा शरीरका इन्दि्रयहरूको कार्यक्षमतामा ह्रास आउनुका साथै शरीरमा प्रयोग गरिएका औषधि पनि निश्चित समयपछि बाहिर निस्कन नसक्ने अवस्था सिर्जना हुन्छ । त्यसैले एउटा वयस्कलाई दिने औषधिको मात्रा वृद्धहरूका लागि प्राणघातक हुनसक्छ  । त्यसका बारेमा कसले सोच्ने ? 

हामी सबैलाई थाहा छ एकदिन सबैले बूढो हुनुपर्छ र त्यो अवस्थामा विभिन्न कठिनाइ प्ानि भोग्नुपर्छ । त्यसैले पनि वृद्धावस्थाका लागि सबैलेे सोच्नुपर्ने अवस्था आइपरेको हो ।    

: नारी