यस्तो छ केजरीवालको रामकहानी


अशोक कुमार
राजनेता र अफिसरहरुले झोले ब्रिगेड भन्ने गरेका एनजीओ सर्कल अर्थात स्वयंमसेवी संस्थामा लागेका अरविन्द केजरीवाललाई मानिसहरुले वर्षौंदेखि चिनेका हुन् । उनको पहिचान कहिले अरुणा रायउको जुनियर साथीको रुपमा त कहिले अलग पहिचान बनाउन जुटेको आरटीआई कार्यकर्ता त कहिले म्यागासेस पुरस्कारबाट सम्मानित स्वयंमसेवीका रुपमा हुँदै आएको थियो ।
तर, भारतको घर-घरमा केजरीवालको तस्वीर टीभी स्क्रीनमा प्राइम टाइम र अखबारहरुमा पहिलो पन्नामा २०११ मा आयो । केजरीवाल सँधै भ्रष्टाचारविरुद्ध अभियान चलाउने सामाजिक कार्यकर्ता अन्ना हजारेको छेउमा बसेको देखिन्थ्यो । उनका कानमा केही भनिरहेको, उनको वाक्य सम्हाल्दै गरेको र कुरा बिगि्रएपछि अन्नालाई पत्रकारहरुको बीचबाट उठाएर लैजाँदै गरेका हुन्थे ।
अधिकांश समय कमिज लगाउने केजरीवाल २ वर्षपहिलेसम्म नेता जस्तो लाग्दैनथे । तर, आज उनी खाँटी नेता भएका छन्, जसले सत्ताधारी कांग्रेस र विपक्षी भारतीय जनता पार्टी, दुबैको सत्ताको यात्रालाई मुश्किल बनाइदिएका छन् ।
भारतीय जनता पार्टी र कांग्रेस जसलाई नेता नै मानिरहेका थिएनन्, उनीहरु आज कजेरीवालको पार्टी आम आद्मी पार्टी -आप) बाट सिक्ने कुरा गरिरहेका छन् । दिल्ली विधानसभामा नराम्रो हार ब्यहोरेपछि कांग्रेस उपाध्यक्ष राहुल गान्धीले आपबाट सिक्ने बताएका छन् । भाजपाले पनि आपको जीत आश्यर्चजनक भएको बताएको छ ।

तेस्रो विकल्प
भलै आम आद्मी पार्टी आपले सरकार बनाउने निर्णय गर्न केही समय लगायो तर, केजरीवालले अन्ततः फैसला गरे । १२ महिनामा नै उनको नयाँ दलले राजनीतिक हलचल मात्र मच्चाएन, ठूला दलहरुलाई चिन्तामा पारेका छन् ।
भनिन्छ कि आप दिल्ली बाहिरका मतदाताहरुका लागि पनि एक विकल्प हुनसक्छ, जो लामो समयदेखि भाजपा र कांग्रेसमध्ये एकलाई मत दिन बाध्य थिए । एक समय दिल्लीका मुख्यमन्त्री शीला दीक्षित आपलाई कुनै ध्यान दिनसमेत तयार थिइनन्, राजनीतिक पार्टी स्वीकार गर्नु त परको कुरा भो ।
जब अरविन्द केजरीवालले राजनीतिमा आउन अन्ना हजारेसँग आफ्नो बाटो अलग गरे, त्यसबेला धेरैले अन्नाविना केही गर्न सक्दैनन् भनेका थिए ।
सिस्टमको सफाइ
यसअघि केजरीवालले विदेशमन्त्री सलमान खुर्शीददेखि कांग्रेस अध्यक्ष सोनिया गान्धीका ज्वाइँ रोबर्ट बाड्रासँग जोडिएको कथित भ्रष्टाचार मुद्दामा अभियान चलाए । केजरीवालले भ्रष्चाटारको मुद्दा त्यसबेला उठाए, जतिबेला कांग्रेस नेतृत्वको सरकारमाथि एकपछि अर्को घोटालाको आरोप लागेको थियो । यद्यपि सस्तो लोकपि्रयताको बाटो रोजेको भन्दै उनको आलोचना पनि भएको थियो ।
तर, यसलाई कसैले इन्कार गर्न सक्दैनन् कि अरबिन्द केजरीवालले मौनताको संस्कृति तोडे । जे उनको मनमा थियो, त्यसलाई अभिव्यक्त गर्न सकियोस् । अरविन्द केजरीवाल ‘देशलाई बेचिँदैछ र सबै पार्टी यसका लागि दोषी छन् । हामीले यो सिस्टमलाई सफा गर्नुपर्छ’ भन्दै वर्षभर राजनीतिको मैदानमा कुदिरहे । समाजिक कार्यकर्ता र भ्रष्टाचारविरुद्ध अभियान चलाएकै कारण उनलाई २००६ मा रोमन म्यागासेस पुरस्कार दिइएको थियो ।
२०१० मा उनले भ्रष्टाचारविरुद्ध इन्डिया अगेन्स्ट करप्शन’को स्थापना गरे, जसको उद्देश्य भ्रष्टाचारविरोधी कडा कानुन बनाउन सरकारलाई दबाव दिनु थियो । तर, ४५ वर्षीय केजरीवाल त्यसबेला चर्चामा आए, जतिबेला उनले अन्ना हजारेको भ्रष्टाचारविरोधी आन्दोलनमा पर्दा पछाडि महत्वपूर्ण भूमिका खेले ।
आईआईटीबाट इन्जिनियरिङ
भ्रष्टाचारविरुघ आन्दोलनको अगुवा अवश्य नै ७४ वर्षीय अन्ना हजारे हुन् । तर, यसको सफलताको पछाडि महत्वपूर्ण भूमिका खेल्ने अन्ना टिमका सदस्य केजरीवालको महत्वपूर्ण भूमिका छ । हरियाणाको हिसारमा १९६८ मा जन्मिएका केजरीवालले आईआईटी खड्गपुरबाट मेकानिकल इन्जिनियरिङमा डिग्री गरेका थिए । केही समय निजी क्षेत्रको टाटा समूहमा काम गरेका उनले १९९२ मा राजश्व अधिकारीका रुपमा भारतीय प्रशासनिक सेवामा काम थाले ।
२००६ मा स्वेच्छिक अबकाश लिए र पब्लिक कज रिसर्च फाउन्डेशन नामको एक गैरसरकारी संगठन स्थापना गरे । यससँगै उनले सरकारीतन्त्रमा पादर्शिता बढाउन सूचनाको अधिकारप्रति जागरुकता पैदा गर्ने अभियान थाले ।
दिनगन्ती सुरु
राजनीतिको मैदानमा आएपछि केजरीवाल जनतालाई सत्ता हस्तान्तरण, भ्रष्टाचारसँग लड्ने, महंगी नियन्त्रण र किसानलाई उनीहरुको उत्पादनको उचित मूल्य दिलाउने कुरा गरिरहेका छन् । आफ्नो राजनीतिक यात्रा सुरुवात गरेसँगै उनले भनेका थिए-आजदेखि तपाईहरु राजनीतिमा उपस्थित हुँदै हुनुहुन्छ । भ्रष्ट नेताहरु, आफ्नो दिनगन्ती सुरु गर ।’
केजरीवाल राजनीतिको पहिलो दौडमा सफल भएका छन् । अब उनीमाथि जिम्मेवारीसँगै जनतासँग गरिएको प्रतिवद्धता पूरा गर्नु बोझ हुनसक्छ । यदि उनी सफल भए मानिसहरुले भन्नेछन् कि वास्तवमै आम आद्मी -मानिस) ले आँटे भने राजनीतिमा परिर्वतन ल्याउन सक्नेछन् ।
तर, उनी असफल भए भने यसलाई पनि गणतान्त्रिक प्रक्रियाको एक अंग मानिनेछ, जहाँ लोकतन्त्र चुनावबाट सुरु हुन्छ र त्यसमा जीत हात पारेपछि समाप्त हुनेछ ।
(स्रोत : बीबीसी हिन्दी सेवा)